भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् ।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डीएनए नमुना (रगत) सङ्कलन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ ।

बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिए । छोराको कुनै पत्तो नपाएपछि डीएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगे । डीएनए नमुना दिए पनि उहाँको मन अझै ढुक्क हुन सकेको छैन । यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर उनले डीएनए नमुना त दिए, तर उनको मनमा अझै पनि छोरा जीवितै भेटिने आश बाँकी नै छ ।