मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, मारिए रक्षामन्त्री कमारा
काठमाडौं ।पश्चिमी अफ्रिकी मुलुक मालीको विभिन्न ठाउँमा एकै पटक हमला हुँदा रक्षामन्त्री सादियो कमाराको मृत्यु भएको छ।शनिबार सशस्त्र समूहले राधानीसहित देशका विभिन्न स्थानमा एकै पटक हमला गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका रक्षामन्त्री कमाराको उपचार क्रममा मृत्यु भएको हो।
उनको मृत्यु भएको भनेर आइतबार मात्रै सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।राजधानी बामाको १५ किलोमिटर परको काती भन्ने ठाउँमा रक्षामन्त्रीको निवास छ। शनिबार उनको निवासमै आक्रमण भएको थियो। प्रतिकार क्रममा रक्षामन्त्री कामार आफैले समेत आक्रमणकारीमाथि गोली चलाएका थिए।
बीबीसीका अनुसार आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन कमाराको निवासतर्फ ठोक्काइदिएका थिए।आक्रमणपछि कमाराको निवास ध्वस्त भएको र नजिकैको एक मस्जिदसमेत क्षतिग्रस्त हुँदा त्यहाँ रहेका केही सर्वसाधारणको ज्यान गएको बताइएको छ। हमलामा कमाराको परिवारका अरू सदस्यहरू पनि मारिएको बताइएको छ।
थर्ड पोल 