महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण

महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकेको बताइएको छ । 

आर्थिक वर्ष २०८२–०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक सङ्घसंस्थाबाट मिति २०८२ असोज २२ गते आवेदन आह्वान गरेको थियो । सोहीअनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँचवटा छनोट भई बन्ध्याकरण कार्य शुरु भएको हो ।

विशेष गरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बन्ध्याकरण कार्य व्यावसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिए ।