रास्वपा केन्द्रीय कमिटी बैठक आज बस्दै, १० कार्यसूची
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार दिउँसो केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो २ बजे बस्ने बैठकमा १० वटा विषयमा छलफल हुनेछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यको पहलबारे ब्रिफिङ हुनेछ। त्यसमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत गराइने झाले बताए।
आजको बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची छ।
त्यस्तै आजको बैठकले वाचापत्र कार्यदल विस्तार गर्नेछ। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वापले चुनावी वाचापत्र कार्यदल गठन गरेको छ।
रास्वपाले संविधान परिमार्जनका लागि सुझाव कार्यदलसमेत बनाउँदैछ। आजैको बैठकले संयोजक मनोनयन गरी तत्काल काम सुरू गर्न निर्देशन दिने तयारी गरेको छ।
रास्वपाले मिडिया अध्ययन कार्यदलसमेत बनाउन लागेको छ। जसको उद्देश्य अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने रहेको छ।
कार्यदलले केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने तयारीसमेत गरेको छ।



थर्ड पोल 