वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी आवश्यक छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका हुन्।
‘वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्। यस परिस्थितिमा नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्।
नेकपाले अघि सारेको नेपाली क्रान्तिको मार्गदिशाअनुरूप सामन्ती निरंकुशताको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका उनले चर्चा गरेका छन्। कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको प्रचण्डको भनाइ छ।
‘तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ। इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु ।
हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा न्याय र स्वतन्त्रता, समानता प्राप्तिको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, घाइते, अपांग तथा शहीद परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दछ,’ उनले भनेका छन्।
थर्ड पोल 