विशेष राजनीतिक समाचार राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य: 'हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं'
"के अध्यक्ष राजेन्द्र लिङ्देन विधान मिच्दैछन् ? राप्रपा पतनतर्फ उन्मुख भएकै हो ?"
काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय देखिएको आन्तरिक विवादले नयाँ मोड लिएको छ। पार्टीका पूर्वअध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै पार्टीभित्र देखिएको बेथिति, पूर्वाग्रहपूर्ण कारबाही र कमजोर बन्दै गएको आन्तरिक लोकतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
पार्टीको इतिहासमा पहिलो पटक तीन पूर्वअध्यक्ष एकैसाथ सार्वजनिक रूपमा उभिएर वर्तमान नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउनु सामान्य घटना मानिएको छैन।
यसले राप्रपाभित्रको असन्तुष्टि अब व्यक्तिगत तहबाट माथि उठेर संस्थागत बहसको विषय बनेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्नुको कारण स्पष्ट पार्दै पूर्वअध्यक्षहरूले पार्टीको बृहत्तर हित, आन्तरिक एकता र लोकतान्त्रिक संस्कृतिको संरक्षणका लागि आफूहरू सांकेतिक विरोधमा उत्रिन बाध्य भएको बताएका छन्।
उनीहरूको आरोप छ कि पार्टीभित्र विधानको मर्म र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको छ।
अनुशासनका नाममा प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त कारबाही भइरहेको भन्दै उनीहरूले त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन्।
संयुक्त वक्तव्यमा राप्रपा अहिले वैचारिक, संगठनात्मक र रणनीतिक रूपमा चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गरिएको छ। पार्टीलाई सशक्त राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।
यही सन्दर्भमा एउटा महत्वपूर्ण प्रश्न उठेको छ
के पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन असफल हुँदै गएका हुन् ?
पूर्वअध्यक्षहरूले पार्टीभित्र बढ्दो निराशा र अविश्वास अन्त्य गर्न अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत सहभागी हुने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न सुझाव दिएका छन्।
यसलाई नेतृत्वप्रति अविश्वास नभई पार्टीलाई थप क्षति हुन नदिन गरिएको सुधारको प्रस्तावका रूपमा पनि हेरिएको छ।
यद्यपि, मङ्सिर २६ गतेदेखि हुने महाधिवेशनको निर्णयलाई स्वागत गर्दै पूर्वअध्यक्षहरूले उक्त महाधिवेशन स्वच्छ, निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन्। साथै नेतृत्व को अहमता ले गर्दा पार्टी छाडेर गएका नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्किन र सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।
संयुक्त वक्तव्यको सबैभन्दा भावनात्मक र राजनीतिक रूपमा अर्थपूर्ण सन्देशमा पूर्वअध्यक्षत्रयले भनेका छन्
"हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन। हाम्रो एक मात्र चाहना भनेको हाम्रो जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो।"
अब मुख्य प्रश्न के हो भने, स्थापना कालदेखि विभिन्न उतारचढाव पार गर्दै आएको राप्रपामा आज किन यस्तो अवस्था सिर्जना भयो ?
विगतका नेतृत्वहरूले सार्वजनिक रूपमा उठाउन नपरेका प्रश्नहरू आज किन उठिरहेका छन् ?
र के आगामी महाधिवेशनले पार्टीभित्रको अविश्वास, विवाद र ध्रुवीकरण अन्त्य गर्न सक्ला ?
यी प्रश्नहरूको उत्तर अब राप्रपाको आगामी महाधिवेशन र नेतृत्वले लिने निर्णयहरूले दिनेछन्।
फिलहाल, पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्यले राप्रपाभित्र गम्भीर आत्मसमीक्षा, आन्तरिक लोकतन्त्र र संगठनात्मक सुधारको बहसलाई केन्द्रमा ल्याएको छ।
थर्ड पोल 