सेयर बजारमा आज  हरियाली 

1.

आज सेयर बजारमा हरियाली छायो।  ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएपछि हरियाली छाएको हो।  

नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णयसँगै बुधबारको कारोबारमा नेप्से परिसूचक ९२ दशमलव २२ अङ्कले वृद्धि भएको छ।  नेप्से चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ अङ्क कायम भएको नेपाल सतहक एक्सचेन्जले जनाएको छ।  

कारोबारको चौथो दिन २ सय ६७ वटा कम्पनीको ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर ४७ हजार दुई सय ८५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ९७ करोड ६० लाख ७६ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ४२ दशमलव ३३ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय ४३ दशमलव २९ अङ्कले बढेको छ ।

आज बैङ्किङ समूह ६६ दशमलव तीन, विकास बैंक समूह एक सय ९७ दशमलव ८०, वित्त समूह एक सय आठ दशमलव २१, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ३६ र जलविद्युत् समूह एक सय २० दशमलव २८ अङ्कले बढेको छ ।


कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु ११ करोड ७१ लाख ३५ हजार तीन सय ४२ बराबरको दुई लाख ८५ हजार आठ सय २६ कित्ता शेयर किनबेच भएको छ ।