सरकारको निर्णय नमानी विद्यालय खोल्ने स्थानीय तहका प्रमुखसँग शिक्षामन्त्रीले भोलि छलफल गर्ने

सरकारको निर्णय नमानी विद्यालय खोल्ने स्थानीय तहका प्रमुखसँग शिक्षामन्त्रीले भोलि छलफल गर्ने


काठमाडौं । विद्यालय शिक्षामा देखिएका अन्योल हटाई आगामी रणनीति बनाउन शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने भएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्क र वार्षिक शैक्षिक क्यालेण्डरलगायत विषयमा रणनीति बनाउन सरकारले सोमबार स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्ने भएको हो।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका  प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष सहभागी हुनेछन्। यस्तै गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहनेछ।

केही संस्थागत विद्यालयले कानून विपरित शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि गैरकानूनी रूपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयले हालै निर्देशन दिएको थियो। 

संघीय सरकारले विद्यालयहरूलाई वैशाख १५ बाट विद्यालय भर्ना थाल्न र वैशाख २१ गतेदेखि पठनपाठन शुरु गराउन निर्देशन दिए पनि उपत्यकाका स्थानीय तहले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान शुरु गरेका थिए। उनीहरूले वैशाख १५ गतेदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए।