सार्वजनिक शौचालय प्रयोग गर्दा सेवाग्राहीबाट शुल्क नलिन महानगरको निर्देशन 

 सार्वजनिक शौचालय प्रयोग गर्दा सेवाग्राहीबाट शुल्क नलिन महानगरको निर्देशन 

काठमाडौं । महानगर कार्यक्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक शौचालय प्रयोग गर्दा सेवाग्राहीबाट शुल्क नलिन काठमाडौं महानगरपालिकाले निर्देशन जारी गरेको छ । निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयको लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइसम्बन्धी सहयोग उपलब्ध गराउने महानगरपालिकाले प्रतिवद्धता जनाएको छ ।

महानगरपालिकाबाट सहयोग प्राप्त गरेर पनि सार्वजनिक शौचालयबाट सेवाग्राहीबाट कुनै पनि प्रकारको शुल्क लिइएको पाइएमा कानूनअनुसार कडा कारवाही हुने चेतावनी पनि दिइएको छ ।

महानगरपालिकाले शुल्क लिएर सञ्चालनमा रहेका शौचालयका सञ्चालक र व्यवस्थापकलाई महानगरपालिकाले उपलब्ध गराउने सहयोग लिन १५ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाईमा लिखित प्रस्तावसमेत दिन आग्रह गरेको छ । महानगरपालिकाबाट सहयोग लिने सार्वजनिक शौचालयले भने सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराउनु पर्नेछ ।

एकाइले शौचालयको स्वच्छतासम्बन्धी आचरण विकास गर्न सबै सार्वजनिक शौचालयलाई वर्षको तीनपटक निःशुल्क सफाइका सामग्री उपलब्ध गराउने भएको छ । यसमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हर्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मग, बाल्टिन, साबुन, डोरम्याट आदि हुनेछन् ।शौचालयको स्वच्छताका लागि डिटोल, रुमाल, रुम स्प्रे, डस्टबिन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान पनि उपलब्ध गराइनेछ ।