सीसीटिभी जडानको लागि नेपाल प्रहरीलाई काठमाडौँ महानगरले ६ करोड रुपैयाँ दिने
काठमाडौं महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सक्र्युट टेलिभिजन) जडान र सञ्चालन गर्न महानगरले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो ।
यसका लागि आज प्रमुख बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।
यस्तै उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ । उक्त सम्झौतापछि महानगरका प्रमुख शाहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।
‘सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ ।’ प्रमुख शाहले अपेक्षा व्यक्त गरे ।
‘नेपाल प्रहरीले महानगरसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्छ । महानगरपालिकाले युवा प्रमुख प्राप्त गरेपछि सुधारका काममा हामी पनि उत्साहित छौँ ।’ अतिरिक्त महानिरीक्षक ज्ञवालीले भने, ‘महानगरका क्षेत्रगत काममा प्रहरी जोडिन सक्छ ।’
थर्ड पोल 