कंगोमा बिद्रोहीको आक्रमणबाट शान्ति मिशनमा रहेका एक नेपाली सैनिकको मृत्यु
कङ्गोमा विद्रोहोले प्रहार गरेको गोली लागेर शान्ति मिशनमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार अपरेशन 'बाली' का क्रममा मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते भएका नेपाली सैनिकको उपचारको क्रममा मृत्यु भएको हो।
हेलिकप्टरमार्फत् थप उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट-१४ निवासी सिपाही अनिल गुरुङको मृत्यु भएको जंगी अड्डाले जनाएको छ।
कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा गुरुङप्रति प्रधान सेनापति प्रभुराम शर्माले उनको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गरेको नेपाली सेनाले जनाएको छ।
