नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा पदभार ग्रहण, वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । आज शपथग्रहणलगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्न राष्ट्र बैंक पुगेका गभर्नर पौडेललाई राष्ट्र बैंकका कमर्चारीहरूले स्वागत गरेका थिए ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा.पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो । मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि राष्ट्र बैंकमा गभर्नर नियुक्त भएको हो । अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । अर्थतन्त्रमा देखिएको चुनौतीकाबीच पौडेल १८औँ गभर्नर नियुक्त भए ।
यससँगै सत्तासाझेदार कांग्रेस–एमालेबिचको अविश्वासको गाँठो पनि केही खुकुलो भएको छ । अब नवनियुक्त गभर्नर पौडेलका सामु वित्तीय क्षेत्र गतिशील बनाउने अनि राष्ट्र बैंकको गिरेको छवि सुधार गर्नु मुख्य चुनौती रहेको विज्ञले बताएका छन् । नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारलाई अगाडी लैजाने बताए ।
थर्ड पोल 