कांग्रेसका सभापति देउवा र महामन्त्री थापा भ्रातृसंस्थाबारे दुईतिर, यस्तो छ फरक धारणा

कांग्रेसका सभापति देउवा र महामन्त्री थापा भ्रातृसंस्थाबारे दुईतिर, यस्तो छ फरक धारणा

काठमाडौं ।  पार्टीले अन्तिम पटक भनेर दिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने ७ भ्रातृसंस्थाका तदर्थ समितिबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको धारणा फरक–फरक आएको छ ।  गत फागुन १ गते बसेको पदाधिकारी बैठकले अन्तिम पटक भन्दै चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरेर निर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्न १० भ्रातृसंस्थालाई निर्देशन दिएको थियो ।

ती १० भ्रातृसंस्थामध्ये तीन वटा (नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघ) ले पार्टीले निर्धारण गरिदिएको समयभित्र महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्दै कार्यभार हस्तान्तरण गरे ।   बाँकी ७ भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारू संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले पार्टीको निर्देशन लत्याए । 

पार्टीले दिएको समय गुज्रेको दुई महिना पुगिसक्यो । तर महाधिवेशन गर्न नसक्ने ती भ्रातृसंस्थाका तदर्थ समिति खारेजसमेत गरिएको छैन । अहिले आएर महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका म्याद थप्ने–नथप्ने विषयमा सभापति देउवा र महामन्त्री थापाबिच विवाद देखिएको छ । 

सभापति देउवाले अहिले रहेका तदर्थ समितिलाई खारेज गरेर नयाँ ल्याए पनि तत्काल महाधिवेशन गराउन नसक्ने भन्दै अन्तिम पटकका लागि म्याद थप्नुपर्ने धारणा राखेका छन् ।

तर महामन्त्री थापाको धारणा देउवाको भन्दा ठिकविपरीत छ । अहिलेकाले महाधिवेशन गराउन नसक्ने दाबी गर्दै उनले नयाँ तदर्थ समिति बनाउनुपर्ने बताउँदै आएका छन् ।

सभापति र महामन्त्रीबिच नै कुरा नमिलेपछि पार्टीले बनाएको निर्देशन समिति र तदर्थ समितिलाई एकै ठाँउमा राखेर महाधिवेशन गर्ने कार्यतालिका माग्दै कांग्रेसले छलफल गरिरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाँउमा राखेर छलफल गरिरहेका छन् । कांग्रेसले भ्रातृसंस्थाको म्याद थप्ने वा खारेज गर्ने तथा अन्य समसामयिक राजनीतिबारे छलफल गर्न असार १५ गर्ते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।