अहिले नेपाली राजनीतिक परिवेशमा अत्यन्तै चर्चित शब्द  ‘झोले’ 

अहिले नेपाली राजनीतिक परिवेशमा अत्यन्तै चर्चित शब्द  ‘झोले’ 

काठमाडौं । अहिले नेपाली राजनीतिक र सामाजिक परिवेशमा अत्यन्तै चर्चित बनेको शब्द हो  ‘झोले’ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा चलाएको ‘म झोले हो’ अभियान अहिले चर्चामा छ।  एमालेका शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्मले ‘म झोले हो’ पोस्टरमा आफूलाई राखेर सामाजिक सञ्जाल रंगाइरहेका छन्। त्यसो त गोकुल बाँस्कोटालगायत कतिपय एमालेकै नेताले यसमा असहमति पनि जनाइरहेका छन्।

जे होस्, यतिबेला ‘झोले’ शब्दप्रति मानिसहरूको चासो ह्वात्तै बढेको छ र यसलाई आआफ्नै आग्रह–पूर्वाग्रहका आधारमा अर्थ्याइरहेका छन्। तर ‘झोले’ शब्दको खास अर्थ के होला त ?

‘झोले’ नेपाली राजनीतिक र सामाजिक बहसमा एउटा चर्चित, विवादास्पद र बहुआयामिक शब्द हो । कहिलेकाहीँ उपहासको औजार, कहिले निष्ठाको प्रतीकका रूपमा यो शब्द आइरहन्छ । पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेका नेता–कार्यकर्ताले ट्रेन्डिङ बनाएपछि यो शब्द पुनः चर्चा र बहसको केन्द्रमा छ ।

‘झोले’ शब्द खोज्दै जाँदा नेपाली बोलीचालीको भाषाबाट आएको देखिन्छ । यसको मूल अर्थ ‘झोला बोकेर हिँड्ने व्यक्ति’ भन्ने नै हुन्छ । यसको सुरुवाती प्रयोग गाउँघरको जीवनशैली र विकास प्रक्रियासँग गाँसिएको छ ।

कुनै बेला जब विकासको नाममा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, एनजीओ वा आईएनजीओको टोली गाउँतिर जान्थे, तिनीहरूका झोला, पोका, दबाइ, कागजात, उपकरण आदि बोकेर हिँड्ने सहयोगी वा स्थानीय कामदारहरूलाई सामान्य रूपमा ‘झोले’ भनिन्थ्यो ।

हिजो राजनीतिक व्याख्याभन्दा फरक, सरल र मिहिनेतमा जोडिएको झोले शब्दको सामाजिक इतिहास बदलियो । राजनीतिमा नेताको पछि लाग्ने, आदेशपालक, गुनासो नगर्ने, विवेकहीन कार्यकर्तालाई ‘झोले’ भनेर उपहास गरियो । राजनीतिक अन्धभक्तलाई इंगित गर्ने प्रचलन बन्यो ।

तर, समयसँगै यो शब्दको प्रयोगमा व्यंग्य मिसिँदै गयो । यो शब्द राजनीतिमा मिसियो । समय क्रममा, राजनीतिक कार्यकर्ता र नेताको पछि लाग्नेलाई पनि ‘झोले’ भन्न थालियो । तर यसरी राजनीतिमा झोले शब्द छिर्दा, यसको अर्थ र भावनामा परिवर्तन आयो । जसले ‘अन्धसमर्पण’, ‘भक्तिगान’ वा ‘बिना सोचका साथ समर्थन’ जस्ता अर्थ बोक्न थाल्यो ।