जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु र दुई जना घाइते

जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु र दुई जना घाइते

काठमाडौं ।   तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।  दुर्घटना शनिबार राति करिब ११ः३० बजे भएको हो। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदीको पुलमा पुगेर रेलिङ तोड्दै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनास्थल व्यास नगरपालिका वडा नं.३ र ४ को सिमानामा पर्ने पुल हो।

दुर्घटनामा व्यास नगरपालिका–५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको पुष्टि गरिएको छ। घटनास्थलमै दुई जनाको मृत्यु भएको र एक जनाको उपचारका क्रममा निधन भएको जनाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहारमध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा रिफर गरिएको छ।

प्रहरीका अनुसार जिपमा कुल पाँच जना सवार थिए। तीव्र गतिका कारण सन्तुलन गुमाउँदै जिप पुलको रेलिङ भत्काएर नदीमा खसेको अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।