कोइराला दाजुभाइबीच बढ्दो राजनीतिक दूरीः भिजिट भिसा प्रकरणले चिस्याएको सम्बन्ध
काठमाडौं । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादित बनेपछि नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति पुनः तरंगित भएको छ। संसददेखि सडकसम्म माहोल तातिरहेको बेला यो प्रकरणले कांग्रेसभित्रै कोइराला परिवारका दुई प्रमुख अनुहार — शेखर र शशांक कोइरालाबीचको दूरी झनै बढाएको देखिएको छ।
२०७८ सालको १४औं महाधिवेशनपछि नै कोइराला परिवारको सम्बन्ध चिसिएको थियो। शेखर सभापति पदमा प्रतिस्पर्धा गर्दा शशांकले केन्द्रीय सदस्य मात्र उठे भने सुजाता कोइराला उपसभापतिमा पराजित भइन्। महाधिवेशनमा शेखरले सहयोग नपाएको र त्यसपछि पनि शशांकले साथ नदिएको गुनासो शेखर पक्षमा रहेको देखिन्छ। पछिल्लो समय सुजाता र शेखरबीचको सम्बन्धमा सुधार आए पनि शशांकसँगको दूरी भने बढ्दो छ।
गृहमन्त्री लेखकमाथि उठेको प्रश्नमा शेखरले सार्वजनिक रूपमा छानबिन र राजीनामाको माग गरेपछि शशांक लेखकको खुलेर पक्षमा उभिए। उनले शेखरसहित उनीनिकट सांसदहरूबाट सभापति देउवाले स्पष्टीकरण माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। यही अभिव्यक्तिले कोइराला परिवारमा रहेको अन्तरविरोध झनै प्रस्ट बनाएको छ।
शशांकको अभिव्यक्तिपछि विराटनगरमा खासगरी शेखर समर्थकहरूले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा आलोचना गर्दै विरोध जनाए। कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले त शशांकलाई ‘बोलक्कडहरूले उचालेर फसाएको’ टिप्पणी गरे। शेखर पक्षका नेताहरूले उनलाई प्रयोग गरिएको भन्दै शंका व्यक्त गर्दै आएका छन्।
यता, शेखरले स्वयं भने शशांकविरुद्ध खुलेर केही नबोले पनि आफ्नो निकटस्थहरूसँग शशांक अरूको इशारामा हिँडेको बताउने गरेका छन्। आफूमाथि स्पष्टीकरण मागिन लागेको विषयमा उनी असन्तुष्ट छन् तर त्यसलाई हल्का रूपमा लिएको बताएका छन्।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने दाजुभाइ एक ठाउँमा आउने सम्भावना कायमै रहेको बताउँछन्। तर शेखर पक्षका नेताहरूको दाबी अनुसार उनीहरूबीच लामो समयदेखि भेटघाट नै भएको छैन।
शेखरले पछिल्लो समय खुलेरै सभापति देउवाको विरोध गर्दै आएका छन् भने शशांक देउवा समूहसँग नजिक देखिन्छन्। कांग्रेसको आगामी १५औं महाधिवेशनमा यी दुई कोइराला एकै ठाउँमा आउने सम्भावना झनै कमजोर देखिँदै गएको संकेतहरू राजनीतिमा देखिन थालेका छन्।
कोइराला परिवारलाई नजिकबाट चिनेका नेताहरूका अनुसार विचार, अडान र सक्रियताको हिसाबले शेखर अघि छन् भने कांग्रेसभित्र वंशगत प्रभाव र संरचना पक्षबाट शशांक अझै बलिया छन्। यद्यपि, दुवैको दूरीले कांग्रेसभित्र शक्ति सन्तुलन र एकताको प्रयासमा गम्भीर असर पारेको छ।
थर्ड पोल 