चीनतर्फ रोकिए ४ सय कन्टेनर सामान, ठूला चाडका बेला उपभोक्ताले महँगीको मार खेप्नुपर्ने डर

चीनतर्फ रोकिए  ४ सय कन्टेनर सामान, ठूला चाडका बेला उपभोक्ताले महँगीको मार खेप्नुपर्ने डर

काठमाडौं ।  मनसुनजन्य विपत्तिका कारण यसपालि दसैंतिहार जस्ता ठूला चाडका बेला नेपाली उपभोक्ताले महँगीको मार खेप्नुपर्ने भएको छ ।बाढीपहिरोका कारण उत्तरतर्फका दुई प्रमुख व्यापारिक नाका लगगभ ठप्प रहेका कारण उताबाट नेपाल आउनुपर्ने ठूलो परिमाण बराबरका उपभोग्य सामग्री आउन नसक्दा उपभोक्ताले आसन्न ठूला चाडमा महँगीको मार खेप्नुपर्ने भएको हो ।

ठूला चाडको रौनक नेपालीको घरआँगनमा प्रवेश गरिसक्दा उत्तरी छिमेकी चीनबाट नेपाल भित्रिनुपर्ने अर्बौं मूल्यका सामान भने उतै अलपत्र छन् । कारण हो– मनसुनजन्य विपत्ति । उत्तरतर्फका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै मनसुनजन्य विपत्तिका कारण लगभग ठप्प हुँदा करिब ४ सय कन्टेनर सामान उतै अलपत्र परेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

दसैंतिहार लक्षित गरी व्यवसायीले मगाएका ती सामान बाढी, पहिरोका कारण वारि ल्याउन नसक्दा यसपालिको दसै–तिहारमा  उपभोक्ताले सामान अभाव र अनियन्त्रित मूल्यवृद्धिको दोहोरो मार खेप्नुपर्ने देखिएको हो ।

नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार चीनतर्फ करिब ४ सय कन्टेनर सामान रोकिएका छन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनमा अलपत्र सामान अबको १० देखि १५ दिनभित्र नेपाल भित्रिन नसके चाडपर्व महँगिने निश्चित छ ।