भिजिट भिसा प्रकरणः अख्तियारलाई मोबाइलको पासवर्ड दिन तीर्थराज भट्टराईको आनाकानी

भिजिट भिसा प्रकरणः अख्तियारलाई मोबाइलको पासवर्ड दिन तीर्थराज भट्टराईको आनाकानी

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर उनले भिजिट भिसामा ‘सेटिङ’ गरेर नेपालीलाई विदेश पठाएको आरोप छ । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराई समेतको गिरोहले लाखौँ असुलेको अख्तियारले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।

जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले सुरुमा दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरेका थिए । तर, मोबाइलको डिएफएल रिपोर्ट नआएको हुनाले उनलाई ‘तारेख’मा राखेर अनुसन्धान अधिकृतहरूले बयानमा बोलाउने गरेका छन् । अनुसन्धान अधिकृतहरूले उनको दुई वटा मोबाइल बरामद गरेका छन् ।

तर, भट्टराईले मोबाइल खोल्नका लागि पासवर्ड भन्न भट्टराईले ‘आनाकानी’ गरेको अख्तियारका अधिकृतहरू बताउँछन् । आफूले चलाउँदै आएको दुईमध्ये एउटा मोबाइलको पासवर्ड भन्न उनले आनाकानी गरेका हुन् ।  अख्तियार स्रोतका अनुसार भट्टराईले भनेको पासवर्डबाट मोबाइल खुलेको छैन । त्यसपछि पटक–पटक सोधपुछ गर्दा उनले भन्ने गरेका छन्, ‘पहिला त्यही थियो, किन खुलेन मलाई त्यसबारे थाहा भएन ।’

पर्यटक भिसा लगाएर विदेशिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले यूएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । भट्टराईले बिचौलियाहरूसँग मिलेर विमानस्थलमा सेटिङ चलाउने गरेको आरोप छ ।