अध्यक्ष ओलीलाई बालेनको पत्रः गिरिबन्धुमा १५ हजार परिवार व्यवस्थापन हुनसक्छ ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह (बोलेन्द्र) ले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । अविरल वर्षका कारण काठमाडौँका उपत्यकाका वस्तीमा खोला पसेको प्रसङ्गलाई लिएर मेयर बालेनले अध्यक्ष ओलीलाई पत्र लेखेका हुन् ।
उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्ः
“माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !”
जनताको जीवनसँग खेलवाड गरेर भोडको राजनीति यसरी नै गरिरहने हो ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले ठुलो दुर्घटना आउँछ भनेर कुरेर बस्ने हो कि व्यवस्थापन गर्नेतर्फ सोच्नुपर्नेतर्फ सङ्केत गर्दै उनले लेखेका छन्, “अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?”
उनका अनुसार काठमाडौँमा लगभग दुई हजार परिवार खोला छेउमा बस्ने गरेका छन् । उनी अगाडि लेख्नछन्, “तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।”
नयाँ सत्ता समिकरण बनेसँगै अब एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । सो बारेमा पत्रमा उल्लेख गर्दै उनले लेखेका छन्, “अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु।”
थर्ड पोल 