आइपिओ निष्कासन प्रक्रिया सूचारु हुँदै
काठमाडौं । आइपिओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरुको सेयर निष्कासन प्रक्रिया नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचारु गर्ने भएको छ ।सेबोनको नेतृत्व खाली भएपछि करिब तीन महिनादेखि आइपिओ निष्कासन प्रक्रिया पूर्ण रुपमा ठप्प रहेको छ ।
बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० गतेबाट समाप्त भएको थियो । त्यसयता आइपिओको पाइपलाइनमा ३५ कम्पनी थपिइसकेका छन् । ३५ मध्ये पाँच कम्पनीले प्रिमियम थपेर आइपिओ निष्कासनको अनुमति मागेका छन् भने बाकिँ ३० कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमै सेयर जारी गर्न लागेका हुन् ।
प्रक्रिया पूरा भएका र कैफियत नदेखिएका कम्पनीहरुको आइपिओ नरोक्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका थिए । सोही बमोजिम यसै साता बोर्ड बैठक बसी आगामी साता देखि आइपिओ जारी गर्ने तयारी रहेको जनाइएको छ ।
थर्ड पोल 