आज रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै

आज रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै


काठमाडौं, १८ बैशाख । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो । जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

निर्वाचित भएर आए पछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सभापति लामिछानेले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टचारलाई कारबाही गर्ने बिषयको बुँदा नै हटाएको भन्दै सभापति लामिछानेले आपत्ति जनाउँदै आएका छन् । जसका कारण सरकारले दिएको समर्थन कायमै रहन्छ भन्नेमा आशंका कायमै रहेको बेला रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बोलाइएको हो ।

यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने अजेन्डा रहेको बुझिएको छ । यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसाला पछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत्त पदमुक्त भएका थिए ।

लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः बिजयी भएर आए पछि उनले शनिबार नै राजिनामा दिएका छन । उक्त रिक्त पदमा आज लामिछाने पुन चयन हुने बुझिएको छ ।