इजरायले गर्यो हमासले अपहरण गरेका बन्धकहरूको सूचीः परेनन् विपीन, सकुशल घर फर्किने आशामा परिवार
काठमाडौं । इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो।
प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्।
इजरायलले हालसालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो। हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम भने छैन।
त्यस्तै विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षारत छ ।हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
मलिन अनुहारमा विपिनकी आमा पदमाले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।’ उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताईन् ।



थर्ड पोल 