इजरायल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार 

  इजरायल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार 


 काठमाडौं । इजरायल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार भएको छ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यथाशीघ्र वार्ता गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

प्रत्यक्ष वार्ताका लागि लेबननले पटक–पटक आग्रह गरेपछि हिजो मैले मन्त्रिपरिषद्लाई यथाशीघ्र प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु, नेतन्याहूले भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ।नेतन्याहूले लेबननसँग वार्ताको एउटा मात्रै एजेन्डा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नू हुने पनि बताएका छन्।

हिजबुल्लाह इरान समर्थित सशस्त्र समूह हो। इरान युद्धमा हिजबुल्लाहले लेबननबाट इसराइलमाथि प्रहार गरिरहेको छ। बुधबार युद्धविराम भए पनि इसराइलले लेबननमा भीषण हमला गरिरहेको छ। इसराइल र अमेरिका दुवैले युद्धविराममा लेबनन नसमेटिएको बताएका छन्।

युद्धविरामपछि बुधबार नै इसराइलले लेबननमा अहिलेसम्मकै ठूलो हमला गर्दा साढे २ सयभन्दा बढीको मृत्यु र ११ सय बढी मानिसहरू घाइते भएका थिए।नेतन्याहुले यस्तो वार्ता हिजबुल्लाहलाई निःशस्त्रीकरणसँगै दुई देशबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्ने विषयमा केन्द्रित हुने बताएका छन्।उनले लेबननका प्रधानमन्त्रीले बेरुतलाई ‘सैन्यीकरणमुक्त’ बनाउन दिएको आह्वानलाई इसराइलले स्वागत गर्ने पनि बताएका छन्।