उपत्यकामा होली सुरक्षा: १३ सय ट्राफिक परिचालन, मोटरसाइकल र स्कुटर चालक निगरानीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिनुका साथै विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ। बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिएको छ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो।होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङ्गसमेत गरेका थिए।
उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेलमेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको हो।
