उपाध्यक्ष विष्णु पौडेलसहित एमालेका चार नेता चीन प्रस्थान

उपाध्यक्ष विष्णु पौडेलसहित एमालेका चार नेता चीन प्रस्थान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता सोमबार चीन प्रस्थान गरेका छन्। आज बिहान  हिमालयन एयरलाइन्सको कार्गो जहाजमा पौडेलसहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगको अध्यक्षमा पुष्प कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गरेका हुन्। 

एमालेका उपमहासचिव विष्णु रिमालले उपाध्यक्ष पौडेलसहितको टोली चीनको कुन्मिङमा हुने इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन गएको जानकारी दिए। उनका अनुसार नेताहरु पाँच दिने भ्रमणमा चीन गएका हुन्। 

चीन बसाईंको क्रममा उपाध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग भेट गर्नेछन्। चीनले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एक हुन आग्रह गर्दै आएको छ। नेकपाभित्र आन्तरिक कलह चर्किएको समयमा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी थिइन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादीबीचको एकता बदर गर्ने फैसलापछि दुई पार्टीलाई मिलाउन चीनको सक्रियता भइरहेको छ। निर्वाचन नजिकिइरहेको समयमा चीनले पुनस् एकपटक फुटेका कम्युनिस्ट शक्तिहरुलाई एक बनाउने प्रयास गरेको छ।