कांग्रेस महाधिवेशन- उपसभापति र महामन्त्रीको गणना जारी, सहमहामन्त्रीको आजदेखि गणना

कांग्रेस महाधिवेशन- उपसभापति र महामन्त्रीको गणना जारी, सहमहामन्त्रीको आजदेखि गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना जारी छ। आजदेखि थप तीन पदको मतगणना सुरू हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरू हुनेछ।

त्यस्तै, मध्याह्न १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना सुरू हुने निर्वाचन समितिले जनाएको छ।

उपसभापति र महामन्त्री पदको मतगणना भने जारी रहेको छ।

निर्वाचन समितिले मतगणनाका क्रममा सहमहामन्त्री पदका उम्मेदवारले दुई जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरेको छ। तर, केन्द्रीय सदस्य पदका उम्मेदवारले भने आफू स्वयंबाहेक अन्य प्रतिनिधि राख्न पाउने छैनन्।