काठमाडौं महानगरले सुरू गरेको सिल्भर भोलिन्टियर कार्यक्रम के हो?

काठमाडौं महानगरले सुरू गरेको सिल्भर भोलिन्टियर कार्यक्रम के हो?

काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।

कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए।

‘सिल्भर भोलिन्टियर कार्यक्रम’ का सन्दर्भमा योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोला भन्छन्, 'तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ? अवकाशपछि विश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौं।'

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ।

महानगरले कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि बमोजिम आवेदन आह्वान गरेको हो। कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिंकमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।