काठमाडौं महानगरसँग महालेखाले माग्यो २५ करोडका पुराना टायलको हिसाब, मृत्यु भइसकेका व्यक्तिको नाममा २३ लाख भुक्तानी

काठमाडौं महानगरसँग महालेखाले माग्यो २५ करोडका पुराना टायलको हिसाब, मृत्यु भइसकेका व्यक्तिको नाममा २३ लाख भुक्तानी

काठमाडौं ।  काठमाडौं महानगरले एक अर्ब २५ करोड रूपैयाँ खर्च गरेर महानगरभित्रका सडकको दुबै पेटीमा राखेका पुराना टायल झिकेर रंगिन टायल राख्यो तर पुराना टायलको हिसाब भने गोलमाल भएको छ। महानगरपालिकाले अहिलेसम्म सडक विभागलाई पुराना टायलको हिसाब बुझाउन नसकेको विषयमा महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले प्रश्न उठाएको छ।

आर्थिक वर्ष २०८०–८१मा महानगरपालिकाले मुख्य सडकको दुवैतिरका पेटीमा पुरानो टायल झिकेर रंगिन टायल राखेको थियो। काठमाडौंको करिब ६० किलोमिटर दूरीमा यसरी रंगिन टायल राखिएको थियो। सडक डिभिजन काठमाडौंले पोहोर साल नै महानगरले फुटपाथबाट झिकेका पुराना टायलको हिसाब किताब महानगरसँग मागेको थियो। यस विषयमा जानकारी माग्दै सडक डिभिजन कार्यालय काठमाडौंले महानगरलाई चिठीसमेत पठायो तर यसको जानकारी महानगरले काठमाडौं सडक डिभिजनलाई अझै दिएको छैन।

पुराना टायल गायव भएको विषयलाई महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ। कुनै निर्मित संरचना भत्काउँदा संरचनाको प्रकृति अनुसार त्यसमा प्रयोग भएका सामग्रीहरू पुनः प्रयोग भण्डारण अर्थात् लिलाम बिक्री सम्बन्धी मापदण्ड बनाउनुपर्नेमा उक्त मापदण्ड नबनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

लेखापरीक्षणको क्रममा तिनकुने गौशाला फुटपाथबाट निस्किएका ब्लक र कर्ब स्टोन महानगरपालिकाले नेपाल आर्मी र सशस्त्र प्रहरीले माग गरेअनुसार दिएको जनाए तापनि अन्य बाँकीको अवस्था सम्बन्धमा अभिलेख नभएको प्रतिवेदनमा जनाइएको छ।

त्यस्तै महालेखाको रिपोर्ट अनुसार महानगरमा मृत्यु भइसकेका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता दिइएको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं। ९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको योग्यता सम्बन्धमा व्यवस्था गरिएको छ। साथै सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिको नाम हटाउने र उपनियम ४ मा ऐन विपरीत हुने गरी भत्ता लिएको पाइए सरकारी बाँकी सरह असुल गर्नुपर्ने व्यवस्था राखिएको छ।भुक्तानी भएको बढी रकम सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्ने देखिएको भन्दै प्रतिवेदनले महानगरको ध्यानाकर्षण गराएको छ।