केदारनाथमा हेलिकप्टर दुर्घटना: ७ जनाको मृत्यु, एक बालक पनि परे मृतकमा
उत्तर भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाम जाने क्रममा आज बिहान एक हेलिकप्टर दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा एक बालकको पनि ज्यान गएको पुष्टि भएको छ। हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ जाँदै थियो र गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको भएको पुष्टि गरिएको छ। प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (पूर्व ट्विटर) मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको निकै दुःखद खबर प्राप्त भएको छ।” उनले थप बताएका छन् कि घटनास्थलमा राज्य आपतकालीन उद्धार बल (SDRF) र स्थानीय प्रशासनको टोली उद्धार कार्यमा खटिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटनाबारे सबभन्दा पहिले जानकारी दिनेहरू नेपाली मूलकी महिलाहरू थिए, जो दुर्घटनाको समयमा गौरीकुण्ड क्षेत्रमाथि घाँस काट्दै थिए। दुर्घटना देखेपछि उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। यसबारे हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले जानकारी दिएका छन्। यस दुर्घटनाले तीर्थयात्री र स्थानीयबासीबीच शोक र चिन्ता फैलिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
थर्ड पोल 