किमाथाङ्का नाका सञ्चालनमा आएपछि सहज बन्दै भोटखोलाको दैनिकी

किमाथाङ्का नाका सञ्चालनमा आएपछि सहज बन्दै भोटखोलाको दैनिकी

काठमाडौं । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो । 

यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए ।

कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट  एक करोड कारोबार गरेका हुन् ।