१२ दिनपछि काममा फर्किएका गभर्नर अधिकारी
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो। तर त्यसविरुद्ध उनले रिट निवेदन दिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत फर्काएको हो। अदालतले सरकारलाई तत्कालका लागि कारबाही नगर्नु भनेर अल्पकालीन अन्तरिम आदेश दिएको हो।
मंगलबारको उक्त आदेशपछि आज गभर्नर अधिकारी नियमित काममा फर्किएका हुन्। गभर्नर अधिकारीले काम गर्न कुनै अफ्ठ्यारो नपर्ने बताएका छन्। सञ्चाचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्रीसँग समेत सहकार्य गर्न सहज हुने बताए।
उनी फर्किएपछि सरकारलाई काम कारबाहीमा सहयोग वा असहयोग कस्तो होला यो कौतुहल छ। पछिल्लो समय अर्थतन्त्र संकटको अवस्थामा गएको र अर्थनीति र वित्तीय नीतिमा समन्वय हुन नसकेको विषय उठान भइरहेको थियो। विशेष गरी अर्थमन्त्री र गर्भनरको बीचमा आवश्यक समन्वय हुन नसकको विषय बाहिर आइरहेको थियो।