गैर आवासीय नेपाली नागरिकतालाई दोहोरो नागरिकता भन्न नमिल्ने
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका नेपाली पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा लण्डनको उलविचमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सेमिनार आयोजना गरिएको छ।
एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित सेमिनारमा ‘नेपालमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि प्रावधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज कुमार शर्माले विश्व भूमण्डलीकरणको वर्तमान अवस्थामा नेपाल एउटा भौगोलिक सीमाभित्र मात्रै सिमित हुन सक्दैन भन्ने आधारमा नेपालको संविधान र नागरिकता सम्बन्धि कानुनले गैर आवासीय नागरिकता सम्बन्धि व्यवस्था गरेको बताए।
उनले गैर आवासीय नागरिकताको प्रावधानले गैर आवासीय नेपालीहरुको मागको तत्काल पूर्ण सम्बोधन नभए तापनि संसारभर छरिएर रहेका नेपालीहरुको अधिकार संरक्षणको एउटा न्यूनतम आधार प्रदान गरेको जनाए। गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा केहि समस्याहरु रहेको सुन्नमा आएकोले त्यस्ता जटिलताहरुलाई समाधानका लागि प्रयास जारी राख्न उनले अभियन्ताहरुलाई सुझाव पनि दिए । अधिवक्ता राधाकृष्ण पाठकले गैर आवासीय नेपाली नागरिकता अन्तर्गत गैरआवासीय नेपाली नागरिकहरुलाई नेपालमा लगानी गर्ने, लगानी र नाफा फिर्ता लैजाने अधिकार दिएको तर सम्पत्ती खरिद गर्न चाहिं सीमा तोकी दिएको बताए ।
उनले गैर आवासीय नेपाली नागरिकतालाई दोहोरो नागरिकता भन्न नमिल्ने बताउंदै यो विदेशी नागरिकता कायम राख्दै नेपालमा सीमित अधिकार प्रदान गर्ने व्यवस्था भएको जनाए। ‘गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पहिला आर्जन गरेको अचल सम्पत्तिको अधिकार कायम रहन्छ र नागरिकता प्राप्त गरेपछि वा पहिला आर्जन गरेको सम्पत्ति आफ्ना उत्तराधिकारी वा परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,’ उनले भने।



थर्ड पोल 