'गोली लागेर गाउँ फर्किँदा आमाले भावुक भएर भन्नुभयो– धन्न बाँचिस्! तँलाई देखेपछि सास आयो'
गत भदौ २७ गते बिहान ११ बजेतिर नियमित चेकअप (परीक्षण) मा आउने चिकित्सकले केशव लिम्बूलाई भने– आज तपाईं घर जान सक्नुहुनेछ।
त्यसको पाँच दिनअघिदेखि अस्पतालको वार्डमा रहेका केशव असीमित खुसी भए।
साथीहरूसँग हातेमालो गरेर अघि बढ्नुपर्ने बेलामा अस्पतालको चार दिवारभित्र बस्नुपर्दा उनी बेचैन थिए।
‘खुट्टाले हिँड्न सकिरहेको थिइनँ तर बाहिरको माहोल देखेर अस्पतालमा बसिरहन गाह्रो भएको थियो,’ उनले भने, ‘डाक्टहरूले आज तपाईंको डिस्चार्ज हुन्छ भन्दा साह्रै खुसी लाग्यो।’
भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनबाहिर उनको बायाँ खुट्टामा गोली लागेको थियो। साथीहरूले उनलाई नजिकैको सिभिल अस्पताल पुर्याएका थिए।
त्यही दिनदेखि उनी अस्पतालमा थिए। डिस्चार्ज हुने जानकारी पाएपछि साथीहरूलाई फोन गरेर सुनाए।
उनी साथीहरूसँग भक्तपुरमा बस्छन्। काठमाडौं ‘स्कुल अफ ल’ मा स्नातक तह चौथो सेमेस्टरका विद्यार्थी हुन्।
उनी चिकित्सकहरूले भनेकै दिन अपराह्न चार बजेतिर अस्पतालबाट बाहिरिए।



थर्ड पोल 