चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।मृत्यु हुनेमध्ये दुई जनाको मात्रै पहिचान भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया– का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन ।शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो ।
तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।
थर्ड पोल 