जाजरकोट भूकम्प प्रभावितका लागि कांग्रेसले थप ५० टहरा बनायो

जाजरकोट भूकम्प प्रभावितका लागि कांग्रेसले थप ५० टहरा बनायो


काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरूकालागि एक हजार वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको कांग्रेसले रुकुम पश्चिममा थप ५० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ ।केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी नेतृत्वको टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।

वडा नं. ११ मा २१ वटा, वडा नं.१२ मा ४ वटा, वडा नं.१३ मा ६ वटा र वडा नं. १४ मा १९ अस्थायी आवास निर्माण गरिएको छ । ‘भूकम्पको यति लामो समय भइसक्यो, तर अझैपनि पीडितसम्म सरकार पुगेको छैन, एकल महिला, बृद्धबृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूलाई सामान्य टहरो ठड्याउन पनि सकस परेको छ ।

सरकारी राहत नपुगेको गाउँमा केन्द्रीय सदस्य शिवाकोटीले अस्थायी आवास बनाउन पीडित परिवारलाई भार नपर्ने गरी व्यवस्था गरी निर्माण गरेको बताए । सरकारले अस्थायी आवास तत्काल ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर त्यो रकम पीडितको हातमा अहिलेसम्म पनि पुगिसकेको छैन ।

नेता शिवाकोटीले आफूहरूले पार्टीकै संयन्त्रमार्फत् देश विदेशबाट सहयोग रकम संकलन गरी आवास खडा गरेको बताए । कांग्रेस भूकम्प लगत्तै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई प्रभावित क्षेत्रमा अनुगमन र सहजीकरणकालागि खटाएको थियो । फर्किएर आउँदा महामन्त्रीद्धय थापा र शर्माले अस्थायी आवास बनाउन तत्काल अनुदान दिन सिफारिस गरेका थिए भने कांग्रेस आफैँले एक हजार वटा अस्थायी आवास बनाउने घोषणा गरेका थिए । त्यसयता कांग्रेसका केन्द्रीय सदस्यहरूसहितको टोलीले निरन्तर आवास निर्माण गरिरहेको छ ।