ट्रम्प र नेतन्याहूबीच तनावपूर्ण टेलिफोन संवाद

ट्रम्प र नेतन्याहूबीच तनावपूर्ण टेलिफोन संवाद


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच तनावपूर्ण फोनवार्ता भएको खुलेको छ।इरान युद्धलाई लिएर ट्रम्प र नेतन्याहूबीच टेलिफोन वार्ताका क्रममा विवाद भएको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले समाचार लेखेको छ।

ट्रम्प र नेतन्याहूबीच मंगलबार भएको टेलिफोन संवाद तनावपूर्ण बनेको जर्नलले जनाएको छ। त्यस दिन उनीहरूबीच झन्डै एक घन्टा कुराकानी भएको बताइएको छ।इरान युद्धबारे ट्रम्प र नेतन्याहूबीच मतभेद छ।

ट्रम्प तत्काल अर्को आक्रमणभन्दा सम्भावना बाँकी रहुन्जेल वार्ताबाटै इरानसँग सम्झौता गर्न चाहन्छन्।सोही अनुसार टेलिफोन संवादमा ट्रम्पले कुटनीतिक प्रयासलाई थप समय दिनुपर्ने भन्ने मत राखेका थिए। नेतन्याहूले भने पुनः युद्ध सुरू गर्नुपर्ने भनेर ट्रम्पलाई दबाब दिएको जर्नलले लेखेको छ।

उनीहरूबीच त्यसअघि आइतबार पनि लामो टेलिफोन संवाद भएको थियो। त्यसक्रममा ट्रम्पले  मंगलबार इरानमा पुनः आक्रमण गर्ने तयारी भएको भनेर नेतन्याहूलाई जानकारी दिएका थिए। उक्त सैन्य कारबाहीको नाम अपरेसन स्लेजह्यामर राख्ने समेत तयारी भएको जर्नलले लेखेको छ।

तर ट्रम्पले त्यसको चौबीस घन्टा नबित्दै कतार, साउदी अरब र युएई लगायत खाडी मुलुकहरूको आग्रहमा मंगलबार तय गरिएको आक्रमण स्थगित गरेका थिए।अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार खाडी मुलुक, ह्वाइट हाउस र पाकिस्तानी मध्यस्थकर्ताबीच सम्भावित कुटनीतिक रूपरेखा तयार गर्न तीव्र संवाद भइरहेको छ।

ट्रम्पले तय भएको आक्रमण रोकेपछि नेतन्याहू असन्तुष्ट बनेको जर्नलले जनाएको छ। त्यसो त यसअघि फेब्रुअरी २८ मा आक्रमण गरेपछि युद्धविराम पनि इसराइललाई थाहै नदिइ गरेको थियो।

इसराइलले लामो समयदेखि इरानले आणविक कार्यक्रम बन्द गर्ने वा क्षेत्रीय गतिविधि सीमित गर्ने प्रतिबद्धता व्यवहारमा पालना गर्नेमा शंका गर्दै आएको छ। नेतन्याहुले मंगलबार र त्यसअघि आइतबार पनि ट्रम्पसँगको संवादमा यही चिन्ता दोहोर्‍याएका थिए।

नेतन्याहुले आक्रमण स्थगित गर्नु ुगल्तीु भएको भन्दै सैन्य अभियान पुनः सुरु गर्न ट्रम्पलाई आग्रह गरेका थिए। एक इसराइली स्रोतका अनुसार, नेतन्याहु इरानविरुद्ध थप आक्रामक नीति चाहिरहेका छन्, जबकि ट्रम्प सम्झौताको सम्भावना समाप्त नभएसम्म पर्खने पक्षमा छन्।