ट्रम्पले गरे इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि बताएका छन् ।मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए ।
उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेको बताएका छन् । ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् ।
युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ । सामाजिक सञ्जाल पोस्ट गर्नुअघि केही घण्टामै ट्रम्पले युद्धविराम नलम्ब्याउने र इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए ।
त्यसबीच इरानी अधिकारीहरूले अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दीको आलोचना गरेका थिए, जसले बुधबारका लागि तय गरिएको वार्तामा उनीहरूको सहभागिता अनिश्चित बनाएको थियो ।
पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल जारी राख्ने बताएका छन् ।
थर्ड पोल 