चुनावी तालमेलबारे जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य छैनः डा बाबुराम भट्टराई

चुनावी तालमेलबारे जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य छैनः डा बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् । 

आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मात्र सहभागितामाथि भट्टराईले सोमबार ट्वीटमार्फत असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्,' जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न।'

गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गर्न उनको आग्रह छ । 'कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं!,' उनले लेखेका छन् ।