यस पटक मतपत्र बलियो कागजमा छापिएको छ, चपाउने र च्यात्ने सपना नदेख्नुहोस्ः थपलिया

यस पटक मतपत्र बलियो कागजमा छापिएको छ, चपाउने र च्यात्ने सपना नदेख्नुहोस्ः थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरेका छन् । आज शुक्रवार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा भएका गल्तीका कारण आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरू यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यस कारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसै गरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आउँदा दिनमा यस्ता प्रश्न उठ्दैनन् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनाव सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले पालिका चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिएका हुन् । 

उनले विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने बताउनुभयो । उहाँले लोकतन्त्रलाई विश्वास गरेर चुनावमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले समानुपातिक समावेशिता सिद्धान्त र ऐन, कानुनलाई बिर्सिएर पालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेको पनि बताए । उनले आयोगले विभिन्न राजनीतिक दललाई संविधानको धारा ३८ को उपधारा ४ बमोजिम चुनावको प्रक्रियामा महिलाको ५० प्रतिशत सहभागिताको कुरालाई बिर्सिएको बताए । 

प्रमुख आयुक्त थपलियाले यस वर्ष आचारसंहिता बनाउँदा पहिलो पटक सामाजिक सञ्जालको नियमन उठाएको र अहिलेसम्मको अध्ययनले समाजिक सञ्जालबाट झनै विकृति सिर्जना भएको पाएको बताए । उनले सामाजिक सञ्जालमा चुनावसम्बन्धी भइरहेका असामाजिक कृत्यलाई निरुत्साहित गर्न आयोगको अनुरोधअनुसार आयोगको युट्युब वा सामाजिक सञ्जालमार्फत आयोगलाई सूचना दिन पनि पर्यवेक्षकहरूलाई अनुरोध गरे । 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितका लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आयोगलाई सुझाव दिए। अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले आयोगले त्यसमा जोड दिनुपर्ने बताए ।