देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको आज उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो ।
कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए। उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे।
“हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ´, प्रधानमन्त्री ओलीले भने, “यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।`
सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताए। उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताए।
थर्ड पोल 