प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदहरूको भेट, एमसीसी पास गरेकोमा आभार, सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। सांसद कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेट गरेको हो। सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवर्द्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो। प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयमा छलफल भएको थियो।
नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसद्प्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरूले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरूको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरे।
