नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँण र टेकनाथको बयान

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँण र टेकनाथको बयान


काठमाडौं, २० जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

अदालतमा दिएको बयानका क्रममा खाँणले तत्कालीन गृहसचिव पाण्डेले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेटघाट भएको भन्दै खुलाएको कुरा झुटो भएको जिकिर गरेका छन् । ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

त्यस्तै भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई मुछेका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् ।

आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भन्नु भयो ।’ यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ ।