नेकपा एसको सचिवालय बैठक बस्दै, सरकारमा जाने नजाने टुंगो लगाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।
आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषय मुख्य गरी छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ ।
यसअघिको गठबन्धनमा सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमलेको तीव्र लबिङ गरिरहेका छन् । मंगलबार दुवै पार्टीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर गठबन्धन र सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिव्र असन्तुष्ट बनेका नेपालले २०७८ भदौमा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी दर्ता गरे ।
तत्कालिन गठबन्धन सरकारसँग मिलेर गत चुनाव लडेका नेपाल र ओलीबीच पानी बाराबारको स्थिति थियो । ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह मात्र गरेनन् नयाँ सत्ता समिकरण बलियो बनाउन हेतु ओली विगतको तिक्तता भुलाएर मंगलबार साँझ दाहालसँग नेपाललाई फकाउन उनको निवास पुगे । मंगलबार साँझ भएको तीन शीर्ष नेताहरुको छलफलमा नेपाल सकारात्मक देखिएको बताइएपनि नेकपा एसले सो बारे आजको बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ ।
थर्ड पोल 