नागरिकमा भ्रम छर्न कम्युनिस्टहरु खप्पिस छन्ः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग स्वीकार हुने बताएका छन्। नेता सिंहले कांग्रेसले देश र जनताको हितविपरितका सहयोग भने अस्वीकार गर्ने प्रष्ट पारे। राजनीति, मुलुक र जनताको हितमा आफू प्रष्ट रहेको बताउँदै अहिले एमसीसीको विषय लिएर फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न नेता सिंहले आग्रह गरे।
नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले घरघर जाऊँ कांग्रेस जिताऔं अभियानअन्तरगत वुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको बताए। उनले त्यस्ता हल्लाको चिरफार गर्न नागरिकसामु गएर बुझाउनुपर्ने आवश्यकता रहेको बताए। उनले भने,' चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्छ । जनताको बीचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् ।'
कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तराष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको आरोप लगाए। भ्रमको खेति गर्नेहरुका बारेमा मतदाका घरघरमा पुगेर वास्तविकता बताउँदै कांग्रेस नेतृत्वमा आजसम्म गरिएका उपलब्धि बुझाएर कांग्रेसको पक्षमा मत माग्न समेत कार्यकर्तालाई आग्रह गरे।
