नेपाल टेलिकमले सार्वजनिक गर्यो नयाँ अफर
काठमाडौं । नेपाल टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ। नयाँ अफरअन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरू सार्वजनिक गरेको हो।
यस अनुसार १८ रूपैयाँमा एक दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने ३५ रूपैयाँमा दुई घण्टासम्म प्रयोग गर्न सकिने दुई घण्टा अनलिमिटेड डेटा प्याक उपलब्ध छ। यीबाहेक विभिन्न दरका भ्वाइस, डेटा र एसएमएस प्याक समेत उपलब्ध छन्।
नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ। साथै, ३५ दिन सम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक जम्मा पाँच सय ९९ रूपैयाँमा उपलब्ध हुनेछ।
नयाँ डेटा प्याकेज अन्तर्गत २४ रूपैयामा एक घण्टा भ्वाइस र डेटा प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डेटा चलाउन समेत सकिन्छ।
त्यसैगरी २० रूपैयाँमा एक दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रूपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा एक सय नौ रूपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जिबी डेटा प्याक उपलब्ध हुनेछ। यीबाहेक तीन सय ९९ रूपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा प्याक उपलब्ध हुनेछ।
यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रूपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ।
जिएसएम २-जी वा ३-जी सिम प्रयोगकर्ताहरूलाई ४-जी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको हो।
यसरी २-जी वा ३-जी प्रयोगकर्ताले आफ्नो सिमलाई ४-जीमा एक्टिभेट गरेमा ३ जिबी डेटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ। स्प्रिङ अफर चैत ३० गतेदेखि लागू भएको छ।
थर्ड पोल 