नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री दाहाल

नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गरी नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिएका छन् ।

बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको उल्लेख गरे ।

उनले काठमाडौं विश्वविद्यालयले नेपालको मौलिक ज्ञान सीपलाई विश्व बजारसँग जोडेर नेपाली शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ ।’

उनले काठमाडौं विश्वविद्यालय नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण बनेको भन्दै त्यसलाई थप सुदृढ र विस्तार गर्न राष्ट्रिय अभियानका रूपमा लैजान आवश्यक भएको बताए ।

‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु । यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो । अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ’, प्रधानमन्त्री दाहालले भने ।

उनले नेपाली विद्यार्थी विदेशिने क्रम निकै बढेको र उनीहरुमा निराशा छाएकोप्रति चिन्ता प्रकट गरे । विश्वविद्यालयमा आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि उपयोग गर्न अनुरोध गर्दै युवालाई स्वदेशमै रोजगारीको अवसर रहेको जिकिर गरे ।