नयाँ गठबन्धनप्रति सतर्क सतर्क प्रचण्ड,  ‘प्रयोग गर्न नखोजियोस्’

नयाँ गठबन्धनप्रति सतर्क सतर्क प्रचण्ड,  ‘प्रयोग गर्न नखोजियोस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले आफूलाई प्रयोग गर्न खोजे गठबन्धनबाट निस्किन सक्ने बताएका छन् । कांग्रेससँग सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएका उनी नयाँ गठबन्धनप्रति सतर्क देखिएका छन् ।राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफू मुलुकका श्रमिक जनता, सहिद र राष्ट्रप्रति इमान्दार रहेको दाबी गरे । आफ्नो इमान्दारितालाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला गठबन्धन छाड्ने उनले चेतावनी दिए ।  

उनले भने, ‘मेरो नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीहरुले अविश्वसनीय, के हुन्छ भनेर भन्न नै नसक्ने भनेर भन्छन् । तर, म त्यस्तो होइन । म नेपालका श्रमिक जनता, महान सहिदप्रति र नेपाल राष्ट्रप्रति अनुमानित गर्न सक्ने नै छु । उनीहरुप्रति इमान्दार हुने कुरामा निरन्तर कायम छु तर प्रतिक्रियावादीले मलाई उपयोग गर्न खाजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु । त्यसकारण उनीहरुको लागि म विश्वसनीय छैन, हुने पनि छैन । आजको दिन हरेक दृष्टिकोणले नयाँ क्रमभंगको दिन बन्न गएको छ ।’

समुचित र वैज्ञानिक परराष्ट्रनीति अवलम्बन गर्न नसके नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्ने भन्दै उनले सबै गम्भीर हुन आवश्यक भएको भनाइ राखे ।   उनले भने, ‘नेपालको राजनीतिमा जुन खालका प्रयासहरु छन्, प्रतिगमनकारी भन्छौ हामी प्रतिक्रियावादी, अवसरवादी, विदेशीप्रभुत्ववादी, जे भने पनि ती सबैको दबाब सबैतिर भएको छ । नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ, हामीले समुचित र वैज्ञानिक परराष्ट्रनीति अबलम्बन गर्न सकेनौ र नेपाली जनतासँग एकाकार गर्न सकेनौ भने नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्छ । त्यसकारण हामी सबै गम्भीर हुन आवश्यक छ ।’