नयाँ वर्ष मनाउन घर फर्कने क्रममा बीच बाटोमै जीव दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

1.

बैतडीमा जीव दुर्घटना हुँदा  एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।  

उनीहरु भारतबाट रोजगारी गरेर नयाँ वर्षका लागि घर फर्कंदै गरेका थिए। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे दुर्घटनाग्रस्त परेको थियो।  

उक्त दुर्घटनामा परि बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर योगेश खत्रीको अनुसार जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाए थिए।  

यस्तै जिप सडकबाट ५ सय मिटर तल खसेको र चालक सम्पर्क विहिन रहेको समेत उनले बताए ।