प्रधानमन्त्री दाहालको चीन भ्रमण सतही आतिथ्य सत्कार र तिर्थाटनमा सिमित : बाबुराम भट्टराई
काठमाडौ, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा सतही अतिथि सत्कारमा रमाएको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलेआरोप लगाएका छन् ।
नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंशामा रमाएर बसेको आरोप पनि लगाएका छन् । उनका अनुसार प्रधानमन्त्रीले तिर्थाटन जान छाडेर देश बिकासका लागि सोच्नु पर्दथ्यो ।
‘प्रमको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो,’ पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले, ‘नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ?’
नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिंणका दुइ ठूला छिमेकीसंग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिंदै आइरहेको उनको भनाई छ । ‘अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो, त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ उनले भनेका छन, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो ।’
सबैले लेखेर राखौं भन्दै उनले भनेका छन, ‘सयौं बर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण -दुइ अंकको आर्थिक वृद्धिदर–दुइ दशक निरन्तर- को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु ।’
थर्ड पोल 