प्रधानमन्त्रीसँग स्पेन गएकाहरु फर्किएनन् भन्ने छ, छानबिन होस् : सोबिता गौतम

प्रधानमन्त्रीसँग स्पेन गएकाहरु फर्किएनन् भन्ने छ, छानबिन होस् : सोबिता गौतम

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका नेपालीमध्ये केही नफर्किएको भन्ने समाचारमाथि आफूहरुको ध्यानाकर्षण भएको बताएको छ । आज प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद सोबिता गौतमले भिजिट भिसामा नेपालीहरु बेच्ने प्रवृत्ति फरकफरक रहेको बताउँदै प्रधानमन्त्रीको भ्रमणमाथि प्रश्न उठाएकी हुन् । 

उनले आफूहरुले कोही व्यक्ति विशेष आरोप लगाएको नभई सो विषय गम्भीर रहेको बताउँदै त्यसमाथि पनि छानबिन हुनुपर्ने आशय व्यक्त गरिन् । ‘यो कार्य त्रिभुवन विमानस्थलभित्र मात्रै होइन सभामुख महोदय, विभिन्न कार्यक्रमको बहानामा नेपालीहरूलाई लोभ प्रलोभनमा पारी लैजाने गिरोहसँग पनि जोडिएको विषय हो।’उनले भनिन्, ‘स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यमा सहभागी हुने बहाना गरेर नफर्किएको भन्ने लगायतका समाचारहरू पनि आइरहेका छन्। सभामुख महोदय, यो व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय अत्यन्तै गम्भीर विषय हो।’